FAQs Complain Problems

संक्षिप्त परिचय -

परिचय :

       यो चौविसे गाउँपालिका धनकुटा जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा अवस्थित छ । यस गाउँपालिका नेपाल सरकारको वि.सं. २०७३ फागुन २७ को नेपालको पुनर्संरचनाको निर्णय अनुसार साविक ७ वटा गाउँ विकास समितिलाई समेटेर स्थापना गरिएको छ । यस गाउँपालिकाको केन्द्र साविक राजारानी गा.वि.स.को केन्द्र राजारानी बजार (पाटी बजार) लाई कायम गरिएको छ । यस गाउँपालिका अन्तर्गत समेटिएका ७ गा.वि.स.हरु छ नं.बुधबारे, मुढेवास, कुरुले तेनुपा, बोधे, राजारानी, मौनाबुधुक र वसन्तटार हुन् । साविक कुरुले तेनुपा गा.वि.स.लाई २ वटा वडा र अरु सबै गा.वि.स.लाई १/१ वडा कायम गरी यस गाउँपालिकामा जम्मा ८ वटा वडाहरु कयम गरिएको छ ।

        यस गाउँपालिका २६°५०'५८" देखि २६°५९'१५" उत्तरी अक्षांश र ८७°२४'१४" देखि ८७°३४'३९" पूर्वी देशान्तरमा अवस्थित मध्य पहाडी प्रदेशमा पर्दछ । याे गाउँपालिकाको भूभागको उचाइ समुद्री सतहदेखि २५० मिटर देखि २३५० सम्म रहेकाे छ । यसको क्षेत्रफल १४७.६ वर्ग कि.मि. रहेको छ भने जनसंख्या १७,६७७ रहेको छ ।

यस गाउँपालिकाको थप विवरण निम्न तालिका अनुसार रहेको छ :

क्र.सं. नयाँ वडा समावेश गाविस जनसंख्या क्षेत्रफल ‌‌‍(वर्ग कि.मि.)
छ नं. बुधबारे (१-९) १७४१ १६.४
मुढेवास (१-९) २७१६ १७.७९
कुरुलेतेनुपा (२,५,६,७,९) १५५४ २१.००
कुरुलेतेनुपा (१,३,४,८) ११२९ १७.३७
बाेधे (१-९) २५८८ २८.७०
राजारानी (१-९) २७१२ १३.१०
माैनाबुधुक (१-९) २४७४ १५.२१
वसन्तटार (१-९) २७६३ १८.०३
  जम्मा   १७६७७ १४७.६०

श्रोत : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय

हावापानी :

     यो गाउँपालिका मध्य पहाडी प्रदेशमा अवस्थि छ । यहाँ केही भिरालो भू-स्वरुप भएसँगै हावापानी पनि विषम प्रकृतिको छ । मुलत: न्यानाे समशितोष्ण र चिसाे समशिताेष्ण प्रकृतिको हावापानी पाइन्छ । तल्लो तथा होचो भू-भागमा निकै न्यानो वातावरण छ भने उच्च ठाउँहरूमा निकै चिसाे प्रकृतिको हावापानी महसुस गर्न सकिन्छ ।

सामाजिक वातावरण :

      याे गाउँपालिका वहुजाती वसोवास भएको गाउँपालिका हो । त्यसैले विविध किसिमका संस्कृति परम्परा पाउनु स्वभाविकै हो । यस गाउँपालिकामा सबैभन्दा बढी लिम्बू जातिको वसाेवास पाइन्छ । त्यसैगरी अन्य जातिहरुमा मगर, राई, नेवार, व्राह्मण, क्षेत्री, याखा, दलित (कामी, दमाइ, सार्की, सुनार) माझी, तामाङ, गुरुङ, भूजेल जातिहरुकाे वसाेवास पाइन्छ । यहाँका अधिकांश मानिसहरू कृषि पेशामा संलग्न रहेकाे पाइन्छ । कृषिका अतिरिक्त केही मानिसहररू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापर व्यावसायमा संलग्न भएका छन् । त्यसै गरी ज्यालामज्दुरी गरेर गुजारा गर्ने परिवार पनि छ । यो गाउँपालिकाका धेरै यूवाशक्ति भने वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ ।

     जातियतामा विविधता सँगै धर्ममा पनि विविधता रहेको पाइन्छ । यस क्षेत्रका धेरै मानिसहरूले हिन्दू धर्म मान्ने गरेको तथ्याङ्क छ । त्यस पछि किराँत धर्मावलम्वीको संख्या अाउँछ । वौद्ध र क्रिश्चियन चौथो र पाँचौँमा देखिन्छ भने अन्य धर्म मान्ने धर्मावलम्बीहरू पनि रहेका छन् । सबै जातिको अा-अाफ्नो संस्कृति भए पनि यस क्षेत्रमा लिम्बू जातिको पालाम र धान नाच, मगर जातिको हुर्रा अनि राई जातिको ढाेल नाच उल्लेख्य रहेको पाइन्छ । धर्म विविध भए पनि दशैं, तिहार जस्ता पर्वहरू भने यस क्षेत्रका वासिन्दाहरूले मन्ने/मनाउने गर्दछन् । 

प्रमुख उत्पादनहरु :

      यस गाउँपालिकाका ८५% भन्दा बढी मानिस कृषि पेशामा संलग्न भएको पाइन्छ । यस क्षेत्रको कृषकहरु मूलत: मकै, धान, काेदो जस्ता अन्नबाली, तेलहन, दलहन, जस्ता खेती लगाउँछन् । पछिल्लो समयमा अाएर कृषकहरु नगदेवाली तर्फ उन्मूख भएको भने पाइन्छ । खास गरी फलफूल तथा तरकारी खेतीमा कृषकहरु बढी अाकर्षित भएकाे देखिन्छ । सुन्तला, कागती, अम्बा, नास्पाती, केरा, जुनार अादि यस क्षेत्रमा उत्पादन हुने प्रमुख फलफूल हुन् । गाउँपालिकाको वडा नं. ६ र ५ लाई सुन्तलाको पकेट क्षेत्रको रुपमा लिइन्छ ।

यातायात पहुँच तथा बजार केन्द्र :

      चौविसे गाउँपालिका धनकुटा जिल्लाकै सुदूर दक्षिण पूर्वमा अवस्थित छ । यस गाउँपालिकाको सबै वडामा सडक संजालको पहुँच पुगेको छ ।  कोशी राजमार्ग अन्तरगत भेडेटारबाट पूर्व करिव १९ कि.मि.को दुरीमा अवस्थित राजारानीबाट याे गाउँपालिका प्रारम्भ भई १ नं. वडा- छ न‌ं. बुधकारे पुग्दा साे सडकखण्डको लम्वाई ४६ कि‍.मि. हुन्छ । धरानदेखि भेडेटार-डाँडाबजार-राजारानी हुँदै मौनाबुधुक, बाेधे, अाइतबारे, मुढेवास, छ नं. बुधबारे, शुक्रबारे, कुरुले नियमित यात्रुवाहक वस संचालन हुने गर्दछ । यस गाउँपालिकाका मुख्य बजारकेन्द्रहरु वडा नं. ६ स्थित राजारानी (पाटी) बजार, वडा नं. ७ स्थित मौनाबुधुक (चाँदनी चौक), वडा नं. १ स्थित छ नं.बुधबारे, वडा नं. २ स्थित शुक्रबारे, वडा नं. ३/४ स्थित गडीगाउँ, वडा न‌ं. ५ स्थित देउराली हुन् । यी वजारकेन्द्रहरूबाट यस गाउँपालिकाका कृषकहरूले उत्पादन गरेका वस्तुहरु धरान निकासी गर्ने गरिन्छ ।

प्रमुख पर्यटकीय स्थानहरु :

     चौविसे गाउँपालिका पर्यटन विकासको प्रचुर सम्भावना बाेकेको गाउँपालिका हो । एउटा सम्भावना स्थानीय पर्यटनको छ भने अर्को Long Trip को लागि पनि उत्तिकै उपयुक्त छ । यस गाउँपालिका अन्तरगत ६ नं. वडा राजारानी स्थित रानीताल (मावारक), नागवेली पार्क तथा पुण्य मा.वि.परिसर, ७ नं. वडा मौनाबुधुक स्थित सिद्धदेवी, ५ नं. वडा स्थित बाेधे गढी, हम्वे दरवार, हांसेमालुङ, थाक्केलुङ, त्रिवेणी, १ नं. वडा बुधबारे स्थित मिक्लाजुङ पर्वत, चमेरे अाेडार २ नं. वडा मुढेवास स्थित सिंहदेविस्थान प्रमुख पर्यटकीय स्थलको रुपमा लिइन्छ । Long Trip को लागि भेडेटार हुँदै नाम्जेको अात्माघर ओख्रेको टावर डाँडाबजारको ध्वजे डाँडा र एशियाकै ठूलो वरको रूख भ्रमण गरेर चौविसे गाउँपालिका प्रवेश गर्न सकिन्छ । चौविसे गाउँपालिकाको प्रवेश सँगै राजारानीको नागवेली पार्क र रानीतालको भ्रमण गर्न सकिन्छ । त्यसपछि मौनाबुधुकको सिद्धदेवी मुढेवासको सिंहदेवीस्थान हुँदै छ नं. बुधबारेको मुक्लाजुङको रमाइलो भ्रमण गर्न सकिन्छ र यहाँका र यहाँबाट देख्न सकिने ठाउँहरुको रमाइला-रमाइला दृश्यावलोकन गर्न सकिन्छ । छ नं. बुधबारेबाट पाँचथर हुँदै पहाडी यात्रा तय गर्न सकिन्छ भने माेरङ्ग हुँदै तराइको । यसरी हल्का सवारी साधनबाट २ देखि ३ दिनम्मको भ्रमण गरी भरपुर अानन्द लिन सकिन्छ ।

प्रमुख सरकारी कार्यालयहरु तथा सुविधाहरु :

      यो गाउँपालिकाको ६ नं. वडामा साविक राजारानी गाउँ विकास समिति अन्तरगत राजारानी (पाटी) बजारमा मिति २०७३/०२/१२ देखि इलाका प्रशासन कार्यालय संचालनमा रहेको छ । यस इलाका प्रशासन कार्यालयले धनकुटा जिल्लाका साविक १० वटा गा.वि.स. (हाल चौविसे गाउँपालिका र साँगुरीगडी गाउँपालिकाका केही क्षेत्र) लाई समेट्ने गरी स्थापना भएको हो । साेही स्थानमा एक इलाका प्रहरी कार्यालय पनि रहेको छ । यस गाउँपालिकाको ६ नं. वडाको राजारानी र १ नं. वडा छ नं. बुधबारेमा कावेली विकास बैंकको शाखा र ७ नं. वडा माैनाबुधुकमा लक्ष्मी बैंकको शाखा रहेको छ । ७ नं. वडा मौनाबुधुकमा स्नातक तह शिक्षा संकायको एक क्याम्पस वि.सं. २०६९ देखि संचालनमा रहेको छ । त्यसै गरी ६ नं. वडा राजारानीमा रहेको पुण्य माध्यमिक विद्यालयमा +२ अन्तरगत होटेल व्यवस्थापन तथा विज्ञान विषयको अध्ययन-अध्यापन हुन्छ । त्यसै गरी ७ नं. वडा अन्तरगत बुधुक मा.वि. ८ नं. वडा अन्तरगत सिंहदेवी मा.वि.१ नं. वडा अन्तरगत शारता मा.वि. २ नं. वडा अन्तरगत संयुक्त मा.वि. तथा ३ नं. वडा अन्तरगत कुरुलेतेनुपा मा.वि. गरी अन्य ५ वटा +२ संचालनमा रहेको छ ।

-------------------------------------------------------

- चौविसे गाउँपालिका